Dr. Rajendra K Panthee

Vaughan, Hamilton, Mississauga तथा GTA का अन्य क्षेत्रमा प्रि-कन्स्ट्रक्सन कन्डोमा लगानी गर्नुभएका साथीहरूका लागि मैले केही समयदेखि कन्डो बजारको अवस्थालाई नजिकबाट हेरिरहेको छु। हालै Globe and Mail को एउटा रिपोर्टले पनि चिन्ताजनक तस्वीर देखाएको छ। Vaughan Metropolitan Centre मा ९६६ नयाँ कन्डो अर्थात् उपलब्ध inventory को करिब ४३% अझै बिक्री हुन बाँकी छ भने Downtown Hamilton मा १,१२७ युनिट अर्थात् ३४% बिक्री हुन बाँकी रहेको रिपोर्टमा उल्लेख छ।
तर यहाँ एउटा अझ ठूलो प्रश्न उठ्छ—यदि Ontario र Canada मा घरको अभाव छ भने condos मात्र होइन, townhomes, semis र detached homes समेत कतिपय ठाउँमा किन बिक्री हुन कठिन भइरहेको छ? मलाई लाग्छ, यसको उत्तर केवल “घर कम छन्” भनेर दिन सकिँदैन। समस्या अहिले housing shortage मात्र नभएर affordability, price, mortgage cost, income र market demand बीचको ठूलो mismatch पनि हो। मानिसलाई घर चाहिएको हुन सक्छ, तर चाहनु र आजको मूल्यमा किन्न सक्नु एउटै कुरा होइन। एउटा परिवारलाई $10,00,000 को घर आवश्यक पर्न सक्छ, तर उसको आम्दानी र mortgage qualification ले $500,000 मात्र धान्न सक्छ। त्यस अवस्थामा बजारमा घर भएर पनि त्यो परिवारका लागि त्यो घर वास्तवमा “उपलब्ध” हुँदैन।
कन्डो बजारले यो कुरा अझ स्पष्ट देखाइरहेको छ। प्रि-कन्स्ट्रक्सन कन्डो किन्दा “भविष्यमा मूल्य बढ्छ, भाडाले mortgage धान्छ र सजिलै resale हुन्छ” भन्ने अपेक्षा धेरैको थियो। तर अहिले नयाँ कन्डोको मूल्य कतिपय resale unit भन्दा महँगो हुन सक्छ, भाडा आम्दानीमा पनि दबाब आएको छ, र क्लोजिङका बेला appraisal खरिद मूल्यभन्दा कम भयो भने थप रकम जुटाउनुपर्ने जोखिम हुन्छ।
अझ रोचक कुरा के छ भने आजको कमजोर बिक्रीले भोलिको housing supply लाई पनि असर गर्न सक्छ। CMHC का अनुसार condominium presales कमजोर हुँदा developers ले नयाँ परियोजना ढिलाइ गर्ने, रद्द गर्ने वा rental मा परिवर्तन गर्ने अवस्था देखिएको छ। Ontario मा 2026 को housing starts करिब दुई दशकयताकै न्यून स्तरतर्फ जाने अनुमान गरिएको छ, मुख्य कारणमध्ये condo pre-construction sales को कमजोरी पनि हो।
त्यसैले मेरो विचारमा Canada को housing debate लाई केवल “हामीलाई अझ धेरै घर चाहिन्छ” भन्ने नारामा सीमित गर्नु पर्याप्त छैन। प्रश्न यो पनि हो—कस्ता घर चाहिन्छ? कहाँ चाहिन्छ? र सबैभन्दा महत्वपूर्ण, ती घरहरू कसले किन्न सक्छ? घरको संख्या बढाउनु आवश्यक होला, तर आम मानिसले किन्न नसक्ने मूल्यमा थप घर बनाउँदै जानु मात्र समाधान होइन। आजको market ले हामीलाई शायद यही पाठ सिकाइरहेको छ: housing shortage र housing affordability एउटै समस्या होइनन्, तर यी दुई एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्।
त्यसैले प्रि-कन्स्ट्रक्सन वा resale मा लगानी गर्नुभएका साथीहरूले अहिले बजारलाई पुरानो “घरको मूल्य सधैं बढ्छ” भन्ने मानसिकताबाट होइन, हालको resale value, mortgage, rent, condo fee, property tax, appraisal र आफ्नो वास्तविक cash-flow हेरेर मूल्याङ्कन गर्नु आवश्यक छ। हल्ला र Facebook marketing भन्दा तथ्य र आफ्नो आर्थिक क्षमतामा आधारित निर्णय गर्ने समय हो।
घर चाहिने मानिस धेरै छन्; तर आजको मूल्यमा किन्न सक्ने मानिस कति छन्? शायद क्यानडाको housing crisis बुझ्ने मुख्य प्रश्न यही हो।